मोर्चाले तयार पार्‍यो भारतीय युवकसहित ६८ जना सहिदको सूची

Darna madheshकाठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा मारिएका ६८ जना सहिदको सूची तयार गरेको छ । नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको हो ।

सहिदको सूचीमा पर्साको विरगंजमा मारिएका भारतीय नागरिक आशिषकुमार रामको पनि नाम ३४ नम्बरमा समावेश गरिएको छ ।

सरकारसँग भएको सहमति अनुसार आइतबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा मोर्चाको बैठक बसेको थियो ।

बैठकबारे जानकारी दिँदै तमलोपाका उपाध्यक्ष वृशेषचन्द्र लालले आजको बैठकले ३० दलीय गठबन्धनले गरेको आन्दोलन, सेवा केन्द्र विस्तारको आन्दोलन, पहाडी भूभागमा सिमांकनको विरुद्धको आन्दोलन, सिम्रोनगढ आन्दोलन, मधेस आन्दोलन र कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा मारिएकाहरुको सूची तयार गरेको बताए । यसमा कूल ६८ जनाको सूची रहेको उनले बताए ।

आन्दोलनमा भएको घाइतेहरुको सूची भने मोर्चाले तयार नगरेको उनले जानकारी दिए । आन्दोलनका क्रममा दूई हजारभन्दा बढी घाइते भएको र यसलाई सूचीकृत गर्न गाह्रो हुने भएको हुँदा यसको तर्जुमा गर्ने जिम्मा नेपाल सरकारलाई नै दिने उनले बताए ।