तीन सन्देश बोकेर चीन जाँदैछन् अर्थमन्त्री महरा

Krishna_Bdr_Maharaकाठमाडौं–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री प्रचण्डको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन् ।

पाँच दिने चीन भ्रमणका क्रममा उनले मंगलबार गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटका बेला ती सन्देश उनले चिनियाँ नेतालाई सुनाउने तथा हस्तान्तरण गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बेइजिङमा कुन नेतासँग महत्वपूर्ण भेटघाट हुने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन ।

‘भ्रमणको विस्तृत विवरण आइसकेको छैन, उता बेइजिङ पुगेपछि प्राप्त हुन्छ,’ परराष्ट्र मन्त्रालय उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले भने, ‘भ्रमणका बेला महत्वपूर्ण राजनीतिक भेटवार्ता हुन्छ ।’ विशेषदूत महराको साथ अर्याल पनि चीन जाँदैछन्।

महराका सूचना तथा सञ्चारविज्ञ त्रिभुवन पौडेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डलले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र विशेष दूतले हस्तान्तरण गर्नेछन् ।