काठमाडौं, ७ साउन । व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र अन्य सबै पदाधिकारीलाई बोलाएको छ ।
काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको उजुरी परेपछि समितिले लोकमान र अन्य पदाधिकारीहरुलाई आइतबार बस्ने बैठकमा उपस्थित गराउने निर्णय गरेको हो ।
बैठकले अख्तियार प्रमुख कार्कीसहित सबै पदाधिकारीहरुलाई उपस्थित हुन निर्देशन दिने निर्णय गरेको समितिका सदस्य अमनलाल मोदीले जानकारी दिए । उनका अनुसार आइतबार गरिने सोधपुछपछि केयूमा भएको हस्तक्षेपबारेमा छानबिन समिति पनि गठन गर्न सकिनेछ ।
लोकमानले स्वास्थ्य क्षेत्रमा हस्तक्षेप गरेको भन्दै अनशन बसिरहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. गोविन्द केसीले पनि कार्कीविरुद्ध महाअभियोग लगाउन माग गरेका छन् ।
केसीले कार्कीविरुद्ध महाअभियोग लगाउन माग गर्दै अनशन बसेपछि अख्तियारले केसीलाई मानसिक रोगीको संज्ञा दिँदै उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको थियो । केसीले पनि लोकमानले केयूको परीक्षामा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन् ।
केसीका मागबारेमा छलफल हुनुपर्ने भन्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहितले बिहीबारमात्रै संसदमा सार्वजनिक महत्वको विशेष प्रस्ताव दर्ता गराएका थिए । उनले पनि केसीले लोकमानविरुद्ध महाअभियोग माग गरेको बारेमा सदनमा छलफल हुनुपर्ने बताएका छन् ।






