बेलायतमा नयाँ प्रधानमन्त्रीले जिम्मेवारी सम्हालिन्

theresa mayलन्डन- बेलायतकी  नयाँ प्रधानमन्त्री टेरेजा मेले ब्रिटेनले युरोपेली संघ छोडेसँगै अब देशले विश्वमा नयाँ भूमिका खेल्ने प्रतिवद्धतासहित पदभार सम्हालेकी छन्।

उनले आफ्नो मन्त्रिमण्डलमा लण्डनका पूर्व मेयर बोरिस जनसनलाई विदेशमन्त्रीमा नियुक्त गरेर धेरैलाई आश्चर्यचकित पारेकी छन्।

जनसन ब्रिटेनले युरोपेली संघ छोड्नुपर्ने अभियानका एक प्रमुख अभियानकर्ता थिए।

जनमतसंग्रहपछि प्रधानमन्त्री बन्न चाहने केहीमध्ये उनी पनि थिए।

प्रधानमन्त्री कार्यालय ‘डाउनिङ स्ट्रिट’ पुग्ने बित्तिकै मेले ‘आफ्नो सरकारले विशेष सुविधा पाएका केहीलाई मात्र नभई सबैका लागि काम गर्ने’ बताइन्।

संयुक्त अधिराज्यभित्रका राष्ट्रहरुबीच ‘निकै मूल्यवान’ सम्बन्ध रहेको भन्दै उनले आफ्नो कन्जरभेटिभ र युनियनिष्ट पार्टीलाई त्यसको बचाउ गर्न आग्रह गरिन्।बेलायतमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी मेको मन्त्रीपरिषदमा महिलाहरुको प्रतिनिधित्व बलियो हुने आँकलन गरिएको छ ।महारानी एलिजाबेथको शासनकालकी उनी १३ औं प्रधानमन्त्री हुन्।

यसअघिका प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामा स्वीकारे लगत्तै महारानी एलिजावेथले मेलाई नयाँ सरकार गठनका लागि निम्तो दिएकी थिइन्।