
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पुनःनिर्माण र संविधान कार्यान्वयन गर्नु सरकारको मुख्य कार्य हो भन्नुभएको छ ।
आठ देशका ‘कृषि सहकारीहरुको विकास सञ्जाल’ (नेडाक)को साधारणसभाको उद्घाटन गर्दै उहाँले सबै जातजाति, समुदायको अधिकारलाई समेटेर निर्माण गरिएको संविधान कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभयो ।
“नेपालका करिब ६७ प्रतिशत जनता कृषिमा निर्भर छन्”, उहाँले भन्नुभयो – “आर्थिक क्रान्तिको नयाँ चरणमा रहेकाले आर्थिक विकासलाई मुलुकको पुनःनिर्माणसँगै लैजानुपर्छ ।” प्रधानमन्त्रीले नेपालमा पाइने जडीबुटी, मह, चिसो पानीमा पाइने माछाजस्ता वस्तुको उत्पादन तथा बजारीकरणमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने औँल्याउनुभयो ।
नेडाकमा रहेका सदस्य राष्ट्रमा अवलम्बन गरी सफल भएका कृषि सहकारीसम्बन्धी प्रविधिलाई नेपालले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले ती प्रविधिको ‘कपी’ गर्ने मात्र हैन त्यससम्बन्धी विस्तृत जानकारी राख्ने कुरामा ध्यान दिनुपर्छ भन्नुभयो ।
उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकको तीनखम्बे आर्थिक नीतिअन्तर्गत एक रहेको सहकारीले मुलुकको दिगो विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारी तथा गरिबी निवारणमन्त्री केसीले संसद्बाट पारित हुने क्रममा सहकारी ऐन रहेको जानकारी दिँदै उक्त ऐनले सहकारी क्षेत्रभित्र रहेका विभिन्न विसङ्गतिलाई न्यूनीकरण गर्नेछ भन्नुभयो । मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले नेपालमा रहेका ३३ प्रतिशत सहकारीमध्ये २७ प्रतिशत सहकारी कृषिमा आधारित रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशवप्रसाद बडालले नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डका रुपमा रहेका कृषि, सहकारीजस्ता क्षेत्रको विकासमा नेडाकको सहयोग सधैँ रहने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले नेपालजस्ता विकासोन्मुख मुलुकको विकासको लक्ष्य पूरा गर्न सदस्य राष्ट्रबीचको अनुभव आदानप्रदान गर्ने थलोका रुपमा नेडाकलाई लिनुपर्नेमा जोड दिनुभयो ।
नेडाकका अध्यक्ष वसुधा मिश्रले कृषि क्षेत्रमा नयाँ प्रविधिको खाँचो औँल्याउनुभयो । अन्तर्राष्ट्रिय सहकारी सञ्जालका क्षेत्रीय निर्देशक बाला सुप्रमन्ह्यु अयरले कृषिजन्य वस्तुको उत्पादनमा जति समस्या देखिन्छ त्यसभन्दा बढी समस्या बजारीकरणमा देखिन्छ, त्यो नेपालको मात्र समस्या नभई विश्वका धेरै मुलुकको साझा समस्या हो भन्नुभयो ।
कार्यक्रममा नेडाकका सल्लाहकार डा दमन प्रकाशलाई नेपालको सहकारी अभियानको विकासमा पु¥याएको योगदानका लागि ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइयो । आजदेखि सुरु भएको उक्त कार्यक्रम तीनदिनसम्म चल्नेछ । कार्यक्रममा नेपालसहित भारत र फिलिपिन्सका विज्ञले औषधिजन्य जडीबुटी, मह, चिसो पानीमा पाइने माछाजस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।






