सिड्नी । नेपाली मौलिकता र नेपाली पन बोकेको नेपाल फेस्टिबल क्यानबेरा २०२३ भव्य रुपमा सम्पन्न भएको छ । गैर आवासीय नेपाली सघं एनआरएनएको आयोजनामा पहिलो पटक क्यानबेरामा आयोजना गरिएको फेस्टिबल ऐतिहासिक रुपमा सम्पन्न भएको हो ।
शनिवार गरिमा प्लेसबाट बिहान ११ः०० बजे सुरु भएको परेडमा नेपाली मौलिक भेषभुषामा सुसज्जित नेपालीहरुले नेपालको झण्डा बोकेर उपस्थित भएका थिए भने नेपाली पञ्चेबाजा, कुमारी रथ समेत समावेश गरिएको थियो
महोत्सव कोमनवेल्थ पार्कमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । फेस्टिभलमा नेपाली कला, संस्कृति, भेषभुषा र मौलिक खानाका परिकार सहित नेपाल बोल्ने विभिन्न प्रस्तुतीहरु राखिएको थियो । नेपाली मौलिक भेषभूषामा सुसज्जित नेपालीहरुको बाक्लो उपस्थितिले महोत्सवलाई रौनक थपेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गर्दै एनआरएनएनले आयोजना गरेको नेपाली फेस्टिवलले अष्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको प्रवद्र्धनका निम्ती महत्वपूणर् रहेको बताए । अष्ट्रेलियन समुदायमा बढ्दै गइरहेको नेपाली जनसंख्यालाई मध्यनजर गर्दै यसप्रकारका सांस्कृतिक पर्वले नेपाली पहिचान र मौलिकताको विकासमा टेवा पुग्ने मात्र नभएर नेपालमा पर्यटन प्रर्वद्धनमा पनि भूमिका खेल्ने उनको भनाई थियो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्षहरु अशोक बस्नेत, देव गुरुङ, हरि खड्का र बिनोद आचार्य, कोषाध्यक्ष अनिल पोखरेल, यूथ कोअर्डीनेटर बबिन मिश्र, डेपुटि यूथ कोअर्डीनेटर चन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए अस्ट्रेलियाका महासचिव राजु अधिकारी र सचिव सन्ध्या शाहले सयुंक्त रुपमा गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्जु कार्कीले गरेकी थिईन् ।
औपचारिक कार्यक्रममा २० बढी विभिन्न देशका राजदुत, क्यानबेरा राज्यका मन्त्री, सांसदहरु को उपस्थिति रहेको थियो भने १५ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो फेस्टिभलमा विभिन्न नेपाली संस्कृति झल्कने प्रस्तुती, नेपाली खानाका परिकारहरु समेटिएका स्टलहरु, नेपाल हाउस बालबालिकाहरुले रमाईलो मेला सहित पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।
महोत्सवमा भ्वाईस अफ नेपालका कोच एवम् चर्चित गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगीतहरु बर्षा हितानी आरिफ रफ लगायतले सागींतिक प्रस्तुती दिँदै दर्शकहरुलाई झुमी झुमी नचाएका थिए ।
नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्ने उद्धेश्य राखेर अस्ट्रेलियाका विभिन्न राज्यहरुमा नेपाल फेस्टिबल आयोजना गरिँदै आएको छ ।








