लण्डन । विगत केहि वर्षदेखि बेलायतमा बस्दै आएका गायक प्रमोदराज न्यौपानेको पहिलो गीति एल्बम ‘मेरो घरको छानो‘ एक विशेष समारोहकाबीच लण्डनमा विमोचन गरिने भएको छ । यहि जुन २६ तारिख आइतबारका सांझ साउथ ईस्ट लण्डनको वीलवीचस्थित ट्रामसेड थिएटरमा नेपाली कला, साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुबाट एल्बम विमोचनको कार्यक्रम छ । यो विमोचन कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूकेले गर्न लागेको हो ।
गायक न्यौपानेले हालै नेपाल पुगेर तयार गरेको एल्बम ‘मेरो घरको छानो’मा उनको एकल गायन छ भने एल्बममा संगीत सागर किनार र शब्द युरानका छन । एल्बममा नविन शैलीका फरक विषयवस्तु समेटिएका पश्चिमी, आधुनिक तथा लोक शैलीका ७ गीत संग्रहित छन । एल्बमको शीर्ष गीतमा नेपाली स्वाभिमान र आत्मसम्मानको भावनालाई निकै नौलो शैलीका शब्द र संगीतमा प्रस्तुत गरिएको छ ।
एल्बमको यो शीर्ष गीतमा भुषण दाहालको निर्देशनमा म्युजिक भिडियो समेत तयार भइसकेको छ । विमोचन कार्यक्रममा शीर्ष गीतको म्युजिक भिडियो प्रदर्शन गरिनुका साथै गायक न्यौपाने र बेलायतस्थित अन्य ख्यातिप्राप्त कलाकारहरुले पनि प्रत्यक्ष गायन प्रस्तुत गर्नेछन । त्यसअवसरमा एल्बमका केहि गीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्ने समेत कार्यक्रम छ ।
पछिल्लो ७ वर्षदेखि बेलायतमा रहेका गायक न्यौपानेले त्यसअघि नेपालमा स्कुल प्रिन्सिपल, कलेज लेक्चरर, रेडियो प्रस्तोता तथा संगीत शिक्षक जस्ता विभिन्न भुमिकामा लामो अनुभव बटुलेका थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर न्यौपानेले वरिष्ठ संगीतकार प्रकाश गुरुंगबाट ४ वर्ष संगीत प्रशिक्षण लिएका थिए । विसं. २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उर्तिण गरेका उनको आवाजमा बेलायत आउनुअघि नै झण्डै एक दर्जन गीत रेकर्ड भइसकेका थिए ।






