लन्डन– विश्वमै प्रतिष्ठित मानिने ४२ किमी लामो लन्डन म्याराथनमा नेपाली सफल व्यवसायी फत्त थापा दोस्रोपटक मैदानमा उत्रने भएका छन् । थापा ४० हजार धावकसँगै मैदानमा उत्रने तयारी गरेका छन् । यसपटक यहि अप्रिल २८ तारिख आइतबार लन्डन म्याराथन आयोजना हुँदैछ ।

यस वर्ष म्याराथन दौडिनको लागि आवेदन दिनेहरुको संख्या अहिलेसम्मकै सबैभन्दा बढि ४ लाख १४ हजार १ सय ६८ थियो । उनीहरुमध्ये ५२ हजार जनाले दौडिने अवसर पाएका छन् । विविध कारणले अन्तिम समयमा रद्ध गर्नेहरुको संख्या कटाएर पनि म्याराथनमा भाग लिनेहरुको संख्या ४० हजार भन्दा बढि रहनेछ । लन्डनको ग्रिनविच तथा बेक्सली क्षेत्रमा एल्डर्ली केयर उपलब्ध गराइएको ‘होम इन्सटेड सिनियर केयर’का निर्देशक थापा द स्ट्रोक एशोसिएसनुको सहयोगार्थ लन्डन म्याराथन दौडिन लागेका हुन् । एशोसिएसन स्ट्रोकको रोकथाम गर्नेदेखि पीडितहरुको सहयोग र यससम्बन्धी अध्ययन, अनुसन्धानमा समेत क्रियाशिल च्यारिटी हो ।

व्यवसायी थापाको लागि लण्डन म्याराथनको दौड यो दोस्रोपटक हो । यसअघि सन् २००७ मा उनले ४ घण्टा ३५ मिनेटमा सफलतापूर्वक लण्डन म्याराथन पूरा गरेका थिए । जसबाट बालबालिकामा हुने क्यान्सरको क्षेत्रमा कार्यरत ‘चिल्ड्रेन विथ लेउकमिया’ भन्ने च्यारिटीको लागि १५ सय पाउण्ड भन्दा बढि रकम संकलन गर्न थापा सफल बनेका थिए ।

अढाई वर्षअघि स्ट्रोकका कारण प्यारालाइसिस भएकी आफनी ७४ वर्षीया आमाप्रति समर्पित गर्दै थापाले उक्त च्यारिटीमा केही सहयोग जुटाउने संकल्पसहित दौडन लागेको जानकारी दिए । १२ वर्षको अन्तरालमा फेरि लण्डन म्याराथन दौडिन लाग्दै गर्दा थापा उत्साहित छन् । म्याराथनमार्फत उनले आफ्नो आमाजस्तै स्ट्रोकबाट पीडित बनेका अरु धेरैको लागि थोरै भएपनि सहयोग जुटाउने कोशिस गरेका छन् । थापाले लक्ष्य राखेको २ हजार पाउण्डमध्ये ८० प्रतिशत रकम अहिले नै संकलन भइसकेको छ ।गुल्मीबाट बेलायत आएका सफल ब्यवसायी थापा विगत दुई दशकदेखि लन्डनमा बस्दै आएका छन् ।

फेसबुक कमेन्ट