बेलायतको असर नेपालमा पनि पर्‍यो, सुनको भाउ आकाशियो

goldकाठमाडौं- सुन एकै दिन प्रतितोला ३ हजार रुपैयाँले महंगो भएको छ । जनमतसंग्रहपछि बेलायत युरोपियन युनियनबाट छुट्टिने पक्का भएपछि त्यसको प्रभावस्वरुप सुनको मुल्य उल्लेख्य बढेर शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमा पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत जनमतसंग्रहको नतिजापछि अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावसंगै नेपालमा पनि सुनको मुल्य बढेको बताउनुभयो । आगामी केही दिनसम्म सुनको मुल्य बढ्ने आशंका व्यवसायीको छ ।

सुनको मुल्य क्रमशः बढ्दै गए आगामी साता महासंघको बोर्ड बैठक बसी सञ्चिती सुनको मुल्य निर्धारण गरिने अध्यक्ष शाक्यले बताउनुभयो ।

यस्तै चॉदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चॉदी आज प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैबीच, सुनको मुल्य एक्कासी उल्लेख्य बढेपछि सुन बेच्न बजारमा उपभोक्ताको भीड लागेको छ । यद्यपी एकैचोटी ठूलो परिमाणमा सुन बिक्री गर्न नसकिने व्यवसायी बताउँछन् ।