२८ पुस, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरु असफल भएका छन् । प्रमुख दलहरुबीच विभिन्न चरणमा छलफल भएपनि सहमति हुन सकेन ।
चार दलबीच सहमति हुन नसकेपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा सभापति डा. बाबुराम भट्टराईले सहमति हुन सकेन भन्ने प्रस्ताव पठाउने प्रस्ताव गरेका छन् ।
सम्वाद समितिको बैठक जारी छ । तर, माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु भने ३० दलीय गठवन्धनको बैठकका लागि भन्दै बाहिरिएका छन् ।
यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई पछिल्लोपटक संविधानका विवाद मिलाउन वा नमिलेका विषयलाई प्रश्नावली तयार पारेर संविधानसभामा पेश गर्न चार दिनको समयसीमा दिइएको थियो । सो समयसीमा सोमबार सकिएको छ ।
तर संविधानका विवादमा सहमति नजुटेपनि संवाद समितिले भने प्रश्नावली नबनाइ प्रतिवेदनलाई जस्ताको तस्तै संविधानसभामा पेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
सत्तापक्षीय दलका नेताहरुले अब सो प्रतिवेदन नफर्किने र संविधानसभामा प्रक्रियाबाट विवाद टुंगो लगाउने बताएका छन् । एमाओवादी र मधेसी मोर्चाले भने सहमति नगरी प्रक्रियामा लगिए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् ।






