बेलायती महारानी समक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बुधबार बकिङ्गघम राजदरबारमा आयोजित एक समारोहमा राजदूत रेग्मीले भिडियो लिंक मार्फत विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।

उक्त अवसरमा महारानी एलिजाबेथले नेपालमा कोभिड १९ ले परेको असर तथा खोपको अवस्थाबारे राजदूत रेग्मीसंग जानकारी लिएकी थिइन् । उनले ब्रिटिश सरकारले नेपालको विकास प्रयासमा सघाउने विषयलाइ प्राथमिकता दिएको बताएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

उक्त अवसरमा राजदूत रेग्मीले कोभिड महामारीसंग जुध्न ब्रिटिश सरकारले हालै उपलब्ध गराएको सहायता लगायत नेपालको सामाजिक-आर्थिक विकासमा पुराएको सहयोगका लागि ब्रिटिश सरकारलाई धन्यवाद दिएका थिए। उनले नेपाल तथा बेलायतबीच रहेको २०० वर्ष भन्दा पुरानो सम्बन्धबारे चर्चा पनि गरेका थिए।

यस अघि राजदूत रेग्मी तथा उनकी धर्म पत्नी चन्द्रकला रेग्मीएक बग्गीमा चढेर राज दरबार गएका थिए।

नेपाल बेलायतसंग दौत्य सम्बन्ध कायम गर्ने पहिलो दक्षिण एसियाली मुलुक हो। सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भए यता नियुक्त भएका पूर्व मुख्य सचिव रेग्मी ब्रिटेनका लागि नेपालका २१ औं राजदूत हुन्।