लण्डन आइपुगे अमेरिकी राष्ट्रपति बाइडेन, रुसलाई दिए कडा चेतावनी

लन्डन । लण्डनमा हुने जी सेभेनको सम्मेलनमा सहभागि हुनको निम्ती अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत आइपुगेका छन् । राष्ट्रपति भएपछि पहिलो औपचारिक भ्रमण गर्दै बाइडेन बेलायत आएका हुन् ।

शुक्रबारदेखि विश्वका ठूला सात धनी राष्ट्रहरुको समूह जी–सेभेनको सम्मेलनमा शुरु हुन लागेको हो । उक्त सम्मेलनमा भाग लिन आएका उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगै नयाँ एटलान्टिक सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सन्धिलाई सन् १९४१ मा विन्स्टन चर्चिल र फ्रांकलिन रुजभेल्टले हस्ताक्षर गरेको एटलान्टिक सन्धिको नयाँ संस्करण भनिएको छ । नयाँ सन्धि जलवायु परिवर्तन र सुरक्षाका मुद्दामा केन्द्रित हुने बताइएको छ ।

अघिल्ला अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा भएको द्धिपक्षीय सम्बन्ध र कोरोनाभाइरस महामारीले सिर्जना गरेको दबाबका बाबजुद यी दुई देशले नयाँ सम्बन्ध विकास गर्न चाहिरहेका हुन् ।

आठ दिन लामो बेलायत भ्रमणमा बाइडेनले महारानी एलिजाबेथ द्धितियालाई विन्डसर क्यासलमा भेट्नेछन् । जी–सेभेन बैठकमा भाग लिने र नेटो अध्यक्षको रुपमा नेटो सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

लन्डन आएलगत्तै राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिरलाई कडा चेतावनी दिएका छन् । रुसले विभिन्न घातक गतिविधिहरु चलाइरहेको भन्दै ति कामहरु नरोकेको खण्डमा खतरनाक परिस्थितीको सामना गर्नुपर्ने चेतावनी समेत दिए ।

उनले आफूहरुले युद्ध नचाहेको भन्दै यसप्रकारका गतिविधिहरु पनि रोक्न चेतावनी दिएका हुन् । यद्यपि भ्रमणको अन्त्यमा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जेनेभामा भेट्नेछन् । पुटिनसँगको भेटमा बाइडेनले पछिल्लो समय दुई मुलुकबीचका जल्दाबल्दा समस्याबारे वार्ता गर्ने भएका छन् ।

जसमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रुसी सेनाको सहभागिता, रुसी साइवर ह्याकिङ प्रकरण र रुसीले देश निकाला गरेका अलेक्जाइ नाभाल्नीको बारेजस्ता मुद्दाहरु छन् ।

इङल्यान्डको कर्नवेलमा हुने जी–सेभेनको सम्मेलनमा सदस्य रहेका क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, युरोप र अमेरिकाबाट राष्ट्रप्रमुखहरु सहभागि हुँदैछन् ।

यसपटक कोभिड–१९, जलवायु परिवर्तन, व्यापार लगायतका मुद्धाहरुमा शक्तिशाली राष्ट्रहरुले छलफल गर्ने बताइएको छ ।