प्रधानमन्त्रीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

kp oli 6काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गर्नुभएको छ ।

आफ्नो कार्यकक्ष सिंहदरबारमा आज भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालय (युएनएचसिआर) का प्रतिनिधिले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

दुबै भेटमा नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी भएको छ । भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको थियो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्धलाई थप सुदृढ र बलियो बनाउनेबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो ।