सपना नदेख्‍नेले मुलुकको विकास गर्न सक्दैन् : उद्योगमन्त्री पाण्डे

som prasad pandeyकाठमाडौं- उद्योगमन्त्री सोमप्रसाद पाण्डेले केपी ओली नेतृत्वको सरकारले नेपालको विकासवारे सपना देखेको भन्दै उक्त सपना साकार भएरै छाड्ने उद्‍घोष गरेका छन् ।

युवा पत्रकार तथा लेखक शोभराज बरालद्वारा लिखित ‘जुनकीरी’ नामक पुस्तकको विमोचन गर्दै मन्त्री पाण्डेले भने, ‘विगतमा सरकारको नेतृत्व गर्नेहरुले मुलुकको विकासको लागि कुनै सपना नदेखाएको तर ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको लागि देखेको सपना सपना मात्रै नभएर अभियान हो, यसलाई पागलको संज्ञा दिनु दुःखदायी विषय हो ।’

मन्त्री पाण्डेले विश्वका कुनै पनि देशहरु विना सपना आज यो स्थानमा नआएको उल्लेख गर्दै वर्तमान सरकारले पनि मुलुकको विकासका लागि ठूलो सपना देखेकोले यसमा सबैले साथ र सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भने, ‘बजेटले कनिका छरेको भन्दै विरोध गर्नेहरु विकास विरोधी हुन्, यो सरकार मुलुक विकासको अभियानमा होमिसकेको छ, यसले देखेको सपना छिट्टै साकार हुनेछ ।’

मन्त्री पाण्डेले मुलुक संघीय संरचनामा गइसकेकोले आफूले पनि सोही अनुरुप प्रादेशिक संरचनामा देशको कलकारखाना तथा उद्योगहरुलाई विस्तार गर्ने बताए । उनले देशभित्र रहेका खनिज पदार्थहरुको उत्खनन् तथा खोजी कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेको भन्दै केही कामहरु अघि बढिसकेको समेत जानकारी दिए ।