लन्डन- भूकम्पपछिको पुनर्निर्माणमा खटिएका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई बार्सिलोनाका नेपाली व्यवसायी रमेशप्रसाद निरौलाले १ लाख २ हजार १६ रुपैया सहयोग प्रदान गरेका छन् ।
बार्सिलोनामा भेजी गार्डेन नामक शाकाहारी भोजनालय सञ्चालन गर्दै आएका निरौलाले धुर्मुस-सुन्तली फाउण्डेसनले सुरु गरेको सिन्धुपाल्चोकको गिरान्चौर गाउँ पुनर्निर्माण अभियानलाई उक्त सहयोग प्रदान गरेका हुन् । नेपालको विकास, समृद्धि र उन्नतिका लागि प्रवासमा बस्ने नेपालीहरुले गच्छेअनुसार सहयोग गर्नुपर्ने उनको धारणा छ ।
झापामा जन्मिएका निरौलाले विराटनगर र भक्तपुरबाट उच्च शिक्षा हासिल गरेका हुन् ।
निरौलाले रकम सहयोग गर्नुअघि कलाकार कट्टेललाई टेलिफोन सम्पर्क गरेको बताए । ‘मैले रकम भ्रष्टाचार हुने नहुनेबारे प्रश्न राखें,’ उनले भने, ‘उहाँले भ्रष्टाचार हुन्न भनेपछि सहयोग पठाएको हुँ ।’
निरौलाले आफूले एनआरएन स्पेनमार्फत भूकम्पपीडितका लागि सहयोग पठाएको बताए । साथै सिन्धुपाल्चोकको थुमम्पाखरमा पनि व्यक्तिगतरुपमा १२ सय यूरो जम्मा गरेर लत्ताकपडा, खाद्यान्न र टेन्ट पठाएको जानकारी दिए ।






