काठमाडौं – गणतन्त्रवादीहरू राजतन्त्रसँग नझस्क, राजतन्त्रवादीहरू गणतन्त्रसँग नतर्स । नेपाल गणतन्त्रमा प्रवेश गरिकसकेको छ । राप्रपाले संविधानलाई स्विकारिसकेको छ । हामीले सबैलाई चित्त बुझ्छ भने यस्तो संस्थाका रूपमा राजसंस्थालाई भनेका हौँ । नेपालका लागि साझा संस्थाका रूपमा राजसंस्था राखौँ भनेका हौँ । राष्ट्रियता, एकीकरण र सुदृढीकरणका लागि हामीले यो विषयलाई अघि बढाएका हौँ ।
संघीयता मुलुकको यथार्थ
हामीले नचाहे पनि संघीयता मुलुकको यथार्थ भइसक्यो । अब हामीले पछाडि फर्काउन सक्ने अवस्था छैन । संघीयता कार्यान्वयन गर्दा न्यूनतम क्षति होस्, नेपाल खण्डित नहोस्, हिमाल, पहाड र तराईको बेमेल नहोस् भन्ने हाम्रो मान्यता हो ।
वैदिक सनातन हिन्दूराष्ट्र नेपाल
हामीले एउटा हिन्दूधर्मलाई मात्र सुविधाको माग गरेका होइनौँ । ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किरात गरी ९३ प्रतिशत बढी वैदिक सनातन धर्म मान्नेहरू छन् । यसर्थ हामीले हिन्दूधर्मको प्रतिष्ठा र पहिचानको कुरा गरेका हौँ ।
हाम्रो पनि संविधान हो
संविधानलाई फरक मतसहित आलोचनात्मक समर्थन गर्यौँ । दुईतिहाइले समर्थन गरेपछि हामीले पनि हस्ताक्षर गर्यौँ । यसर्थ यो हाम्रो पनि संविधान हो । संविधानमा फरक मत राख्नेहरूले अब जंगल जान पर्दैन, नाकाबन्दी गर्न नाका पुग्न पनि पर्दैन । आफ्ना चित्त नबुझेका कुरा राख्न सकिन्छ । संविधान कार्यान्वयनमा हाम्रो सकारात्मक इमानदर सहयोग रहन्छ ।
हामी वैकल्पिक दलमा दरियौँ
दुई पार्टी एक भएपछि अब भरपर्दो र विश्वासिलो दल मुलुकले प्राप्त गरेको छ । हामी राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र र विचारधारा लिएर अगाडि बढ्ने पार्टीमा दरिएका छौँ : कमल थापा
देश बचाउने अभियानमा लाग्छौँ
ठूला दलले भागबन्डा गरेर देश नै बर्बाद पारेका छन् । हामी देशलाई नै बचाउने अभियानमा छौँ । अब नेतृत्व लिएर १०–१५ वर्षमै लाखौँ युवालाई स्वदेशमै रोजगार दिलाउने अभियानमा राप्रपा लाग्छ : डा. प्रकाशचन्द्र लोहनी
संकट समाधान गर्न राप्रपा
अहिले मुलुक संकटमा छ । स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन भएनन् भने मुलुक झन् संकटमा पुग्छ । तीनवटै निर्वाचनमा राप्रपालाई मुलुकको सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ : पशुपतिशमशेर राणा
वैकल्पिक शक्तिकै लागि राप्रपा
०४६ पछि वैकल्पिक शक्तिका रूपमा राप्रपालाई खडा गरेका हौँ । अहिले फेरि देशका त्रुटि र समस्या समाधान गर्न लाग्नुपरेको छ । यसका लागि एकीकृत राप्रपा बल हुन्छ : लोकेन्द्रबहादुर चन्द






