पाकिस्तान, २७ पुष । पाकिस्तानका पूर्वक्रिकेटर तथा नेता इमरान खानले टेलिभिजन एंकर रेहाम खानसँग विवाह गरेको पुष्टि गरेका छन् । इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) को आधिकारिक ट्विटर एकाउन्टले उनको बिहेका केही तस्बिर पनि सार्वजनिक गरेको छ ।
इमरान र रेहामको इन्गेजमेन्ट गत बिहीबार इमरानकै निवास बनी–गालामा सम्पन्न भएको थियो । पीटीआईको ट्विटरमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार रेहामका माता(पिता पाकिस्तानी हुन् भने रेहामको जन्म भने लिवियामा भएको थियो । उनले बेलायतमा पढेकी हुन्। रेहाम पेसाले पत्रकार हुन् ।
उनको आधिकारिक वेबसाइटका अनुसार उनले सन् २००६ बाट पत्रकारिताको क्यारियर सुरु गरेकी थिइन् । उनले सन् २००८ मा बीबीसीमा पनि काम गरेकी थिइन् । उनले बीबीसीमा मौसमसम्बन्धी कार्यक्रम प्रस्तुत गर्थिन् । सन् २०१३ मा उनले पाकिस्तानी समाचार च्यानल ‘न्युज वान’ मा पनि काम गरेकी थिइन् । त्यतिबेला उनले आमचुनावको रिपोर्टिङ गरेकी थिइन् ।
इमरान र रेहामको इन्गेजमेन्ट कार्यक्रममा दुवैका परिवारबाहेक अरु बाहिरका कुनै पनि राजनीतिक व्यक्ति सहभागी थिएनन् । पाकिस्तानी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एक महिनादेखि इमरान र रेहामको बिहेको चर्चा भइरहेको थियो । पीटीआईका सूचना सचिवका अनुसार बिहेको भोज भने हुने छैन । यसको सट्टा पार्टी गरिब बालबालिकालाई खाना खुवाइने भएको छ ।






