काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार आज बिहान डा. केसीले २८औं दिनमा १९औं अनशन तोडेका हुन् । उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाए । शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । डा। केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । उनको यो अनशन हालसम्मकै लामो हो ।






