लन्डन। बेलायतका लागि नेपाली दूतावास र ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को संयुक्त आयोजनामा ‘बेलायतमा नेपाली विद्यार्थीका सरोकारहरू’ विषयक एकदिवसीय सम्मेलन सम्पन्न भएको छ। बिहीबार, २९ जनवरीमा दूतावास परिसरमा आयोजित सम्मेलनमा बेलायतका विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली विद्यार्थीहरूले बेलायती विश्वविद्यालयमा हासिल गरेको उत्कृष्ट शैक्षिक उपलब्धि र अनुभवप्रति खुसी व्यक्त गर्नुभयो। यद्यपि, उहाँले विद्यार्थीहरूले भोग्नुपरेका विभिन्न चुनौती र सङ्घर्षका बारेमा दूतावासमा रिपोर्ट प्राप्त भइरहेको जानकारी दिँदै अभिभावक, शैक्षिक परामर्शदाता, विश्वविद्यालय, समुदाय र दुवै देशका सरकारबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) का अध्यक्ष निक हिन्टनले विद्यार्थीहरूलाई सही सूचना प्रदान गर्न र नीतिगत परिवर्तनबारे जानकारी दिन आफूहरू तयार रहेको बताउनुभयो। उहाँले यस सम्मेलनबाट निस्कने रणनीतिले विद्यार्थीहरूलाई आफ्नो अध्ययनमा केन्द्रित हुन सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो।
नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानुनको पुनरावलोकन गर्ने, परामर्शदाता संस्थाहरूको अनुगमन गर्ने र संकटमा परेका विद्यार्थीका लागि सहयोग संयन्त्रबारे छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो।
काठमाडौंस्थित बेलायती दूतावासका निर्देशक डिएगो मोरोसो र ब्रिटिश काउन्सिलका निर्देशक रुस्तम मोडीले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र सहयोग साझा जिम्मेवारी भएको बताउँदै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्मेलनले विद्यार्थीका समस्या समाधान गर्न र दिगो सुधार ल्याउन निम्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सम्मेलनले सरोकारवालाहरूबीच निरन्तर संवादका लागि अनलाइन प्लेटफर्म स्थापना गर्ने, समन्वय र सञ्चार सुधार गर्न सबै क्षेत्रका प्रतिनिधि सम्मिलित परिषद् गठन गर्ने, नीतिगत सुझावहरू दिन र दुवै देशका नियम कानुनबारे विद्यार्थीलाई जानकारी गराउन कार्यदल बनाउने तथा विद्यार्थीहरूलाई औपचारिक र अनौपचारिक दुवै प्रकारका सहयोग उपलब्ध गराउने निर्णय गरेको नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
तथ्याङ्क अनुसार नेपाल हाल बेलायतका लागि अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौं ठूलो देश बनेको छ। पछिल्लो पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले अध्ययनका लागि अनुमति पत्र (एनओसी) लिएका छन् भने सन् २०२५ मा मात्रै करिब २० हजार विद्यार्थीले यस्तो अनुमति पाएका छन्।


कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीहरूका लागि नेपाल सरकारले स्पष्ट मार्गनिर्देशन (गाइडलाइन) सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। साथै उनले बेलायती विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आर्थिक क्षमताको कडाइका साथ मूल्यांकन गर्न आग्रह गरे।
‘शैक्षिक परामर्शदाता संस्थाहरूले पनि बेलायतमा पढ्न आउने विद्यार्थीहरूलाई सम्भावित चुनौतीबारे इमानदार रूपमा जानकारी गराउनुपर्छ’, उनले भने।
अध्यक्ष पुडासैनीका अनुसार बेलायतमा रहेका नेपाली विद्यार्थीहरूले आर्थिक कठिनाइ, शैक्षिक दबाब, भाषिक समस्या, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती तथा सांस्कृतिक अनुकूलनका जटिलता सामना गरिरहेका छन्। तर, यी समस्या समाधान गर्न नसकिने खालका नभएको उनले बताए।
‘संगठित, सहानुभूतिपूर्ण र समुदायमा आधारित प्रयासमार्फत बेलायतस्थित नेपाली समुदायले विद्यार्थीहरूलाई प्रभावकारी सहयोग पुरयाउन सक्छ’, उनले जोड दिए ।
सम्मेलनमा बेलायतका विभिन्न मन्त्रालय (होम अफिस, एफसीडीओ, शिक्षा विभाग), विश्वविद्यालयका प्रतिनिधि, गैरआवासीय नेपाली संघ यूके, विद्यार्थी संगठन, प्राध्यापक, सञ्चारकर्मी र शैक्षिक परामर्शदातासहित ६० भन्दा बढी सरोकारवालाहरूको सहभागिता थियो।







