काठमाडौं-संसारका चर्चित आँखा उपचार केन्द्रको सूचीमा पर्ने राजधानीको तीलगंगा आँखा अस्पतालले यति धेरै सेवा पुर्याएको कल्पना उनले गरेकै थिएनन्। विश्वका नामी विशेषज्ञले राम्रो मोडलको संस्था नेपालमा छ भन्दै नेपाल जाने योजना भने उनलाई बारम्बार सुनाइरहन्थे। अमेरिकास्थित साउथ क्यालिफोर्निया विश्वविद्यालयका क्लिनिक प्रोफेसर एवं एरिजोनाकाका रेटिनल (दृष्टिपर्दा) सम्बन्धी विशेषज्ञ नेपालीमूलका डा. प्रवीण डुंगेलमा काठमाडौं आएर तीलंगगा हेर्ने रहर पलायो। दुई वर्षअघि उनी परिवारसहित नेपाल आए।
२५ वर्षपछि नेपाल आउँदा उनीसँगै आएका अमेरिकन परिवारलाई नेपालप्रति जुन उत्सुकता थियो, त्यसभन्दा बढी उनमा तीलगंगाप्रति थियो। ‘जब मैले तीलगंगा हेरेँ र डा. सन्दुक रुइतलाई भेटेँ, म आश्चर्यमा परेँ,’ उनले नागरिकसँग त्यतिबेला भेटमा भनेका थिए, ‘एउटा संस्था र व्यक्तिले यति धेरै गर्न सक्ने रहेछ, मैले त कल्पनै गरेको थिइनँ।’
त्यही दिन उनले अठोट गरे– नेपालमा मैले पनि केही गर्नुपर्छ।
इन्टरनेटमार्फत डा. रुइतसँग निरन्तर सम्पर्क र छलफल हुन थाल्यो उनको। डा. प्रवीण अहिले आफ्नो विशेषज्ञता रहेको दृष्टिपर्दा (रेटिना) का क्षेत्रमा तीलगंगामै एसियास्तरीय केन्द्र बनाउने अभियानमा जुटेका छन्।
तीलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुइतका अनुसार संसारमा दृष्टिपर्दा (रेटिना) का नामी विशेषज्ञको नाम लिँदा अग्रस्थानमा गनिने ५१ वर्षे नेपालीमूलका यी चिकित्सक तीलगंगामार्फत आफूसँग भएको सीप र क्षमता खर्चिन तत्पर छन्। डा. रुइतका अनुसार दृष्टिपर्दा प्रविधि, अनुसन्धान र सीपका आधारमा पनि अग्रणी चिकित्सकमा पर्छन् डुंगेल।
डुंगेलको अठोट पूरा गर्न तीलगंगा उनीसँग सहकार्य गर्न तयार भएको छ। डा. रुइतका अनुसार मोतिबिन्दुपछिको दोस्रो प्राथमिकता कार्यक्रममा रेटिना उपचारलाई राख्ने तयारी भइसकेको छ। ‘डुंगेलसँगै उनका बुबा रमेश उपाध्याय डुंगेल र आमा प्रमिलाको नेपाललाई सहयोग गर्ने इच्छाले पनि साथ दिएकाले यो अभियान सार्थक हुनेछ,’ डा. रुइतले थपे।
दुई वर्षअघिको इच्छालाई यथार्थमा बदल्ने बाटो खोज्न एक साता नेपालमा बिताएका डुंगेलले अमेरिका फर्किनुअघि भने, ‘बढीमा अबको ६ महिनामा नेपालमा रेटिना क्षेत्रमा केही न केही राम्रो र फरक कामको सुरुआत देख्नुहुनेछ।’ अबको १० वर्षमा रेटिनाको उपचार क्षेत्रमा नेपाललाई युरोप–अमेरिकाको हैसियतमा पुर्याेउन सकिने उनले सुनाए।
तीलगंगाले क्याटर्यािक, कर्निया, ग्लकोमाजस्ता विधामा आश्चर्यजनक र उत्कृष्ट काम गरिरहेको उनले बताए। ‘म कार्यरत राज्य एरिजोनामा हामीले रेटिनाका सबै डाक्टरले गरेको कामभन्दा १० गुणा बढी डा. रुइत एक्लैले गरेका रहेछन्,’ उनले भने।
रेटिनाका क्षेत्रमा गर्न सकिने काम सुनाउनुअघि उनले आफ्नो नेपाल सम्बन्धकै कारण एसियाकै लागि सेन्टर तीलगंगामा बनाउन चाहेको बताए। युएन सेवामा कार्यरत पितासँगै उनी चार वर्षको उमेरमै भियाना (अस्ट्रिया) पुगेका थिए। ७ देखि १४ वर्षसम्म बेलायत र उच्च शिक्षा न्युयोर्कमा पढे। त्यसपछि उनको यात्रा अमेरिकातिर मोडियो।
न्युयोर्कस्थित लस–एन्जलस मेडिकल स्कुलमा उनी मेडिसिन पढ्न थाले। त्यसपछि उनले युनिभर्सिटी अफ साउथ क्यालिफोर्निया (युएससी) मा सर्जिकल रेटिना र बास्कम पाल्मर आई इन्स्टिच्युटबाट मेडिकल रेटिना पढेका थिए। पढाइ सकेर उनी पुनः युएससीमा फर्किएर फ्याकल्टीका रुपमा आबद्ध भए। त्यससँगै उनले एरिजोनाको फिनिक्समा प्राइभेट प्राक्टिस पनि थाले। पछिल्ला दुवै काम अहिले पनि जारी छ।
‘सबै काम छाडेर नेपाल आउने योजना हो?,’ प्रश्नमा उनले भने, ‘६/६ महिनामा नेपाल आउँछु, जतिबेलासम्म तीलगंगा रेटिनामा विश्वस्तरीय संस्थाको दाँजोमा पुग्दैन।’ उनका अनुसार रेटिनाका क्षेत्रमा अमेरिकालगायत युरोपका केही देशमा नवीनतम प्रविधि भित्रिसकेको छ।
दोस्रो विश्वका देशहरुमा पछिल्ला दिनमा बढ्दो मधुमेह, दुर्घटनाजस्ता कारणले दृष्टिपर्दाको समस्या अस्वाभाविक बढिरहेको छ। संसारमा पछिल्ला दिन दृष्टिपर्दा बिगार्ने प्रमुख कारण हो मधुमेह। तर त्यसको तुलनामा विकासोन्मुख र कम विकसित मुलुकमै यसको जनशक्ति र प्रविधि कमजोर रहेको बुझाइ डुंगेलको छ।
‘पछिल्लो समय डाइबेटिजका कारण रेटिनामा पर्ने असर इपिडेमिक रुपमा विकास भएको छ। त्यसमा पनि नेपालजस्तो विकासशील देशमा प्रत्येक वर्ष शतप्रतिशत वृद्धि छ,’ डा. डुंगेलले भने, ‘जहाँ निड छ, त्यहाँ रेटिन केयर छैन, त्यसैले पनि नेपालमा हामीले सुरु गर्ने काम अर्थपूर्ण छ।’
मधुमेहबाहेक वृद्ध अवस्थामा रेटिनामा रगत जम्ने समस्या मेकिलर रेटिना, भेनकुलजन, दुर्घटना एवं चोटपटकले पनि दृष्टिपर्दा बिगार्छ।
अहिले तीलगंगामार्फत अफ्रिका, म्यान्मार, इन्डोनेसिया लगायत देशमा थुप्रै सेवा र सीप ट्रान्सफर भइरहेको छ। ‘नेपालबाट संसारका धेरै मान्छेले उपचार पाएका छन्। त्यसैले संसारका डाक्टरहरु नेपालमा सिक्न र हेर्न आउँछन्,’ उनले भने, ‘अब रेटिनाको गन्तव्य पनि नेपाल बनाउन सकिन्छ।’
आफूसँग भएको सम्बन्धनलाई प्रयोग गरेर कम्पनीमार्फत नेपालमा उपकरण भिœयाउने बताए। ६ महिनाभित्रै नेपालमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र संसारभरका विज्ञ र कम्पनीलाई नेपाल भिœयाउने उनको योजना छ। त्यसका लागि उनी रेटिना क्षेत्रमा सूक्ष्म शल्यक्रिया गर्ने उपकरण बनाउने कम्पनीका सिइओसँग भेट्न स्पेन जाँदैछन्। ‘एड्भान्स लेजर गर्न, रक्तश्राव र सोइलिङको उपचारमा म सहयोग गर्छु,’ उनले भने।
उनी कार्यरत राज्य एरिजोनामा मात्रै १२ रेटिना सर्जन छन्, २५ वटा सेन्टरले पूरै राज्यलाई समेट्छ। सेन्टरसँग एउटा हेलिकप्टर र २ पाइलट छन्। १२ सर्जनमध्ये एक जना प्रत्येक दिन फरक सेन्टरमा पुग्छन्। उनी अमेरिकामा पनि प्रतिदिन ८० ओपिडी र सातामा २० देखि २५ वटा यस्तै शल्यक्रिया गर्छन् र पढाउन लसएन्जलस जान्छन्। उनले तीलगंगाको काम आफ्नो भन्दा धेरै गुणा रहेको सुनाए।
नेपाल रेटिना गन्तव्य बन्न सक्छ






