बैशाख १२ , (अनलाइन पत्रिका) । वरिष्ठ साहित्यकार एवं गीतकार प्रेमप्रकाश मल्लको निधन भएको छ । लामो समयदेखी पक्षघातको समस्याले पिडित मल्लको गएराती बाँकेको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
रुकुमको सेरी गाविसमा जन्मिएका मल्ल हाल नेपालगन्ज वाटरपार्कमा वस्दै आएका थिए । उनी छोरा मधुकर र पत्नीको निधनपछि नेपालगन्जको धम्बोझीस्थित छोरी ज्वाइँको घरमा बसिरहेका थिए ।
लामो समयदेखि थलिएका मल्ल ३ महिनाअघि बाथरुममा अचानक लडेर टाउकोमा गम्भीर चोट लागेपछि थप थलिएका थिए । दुवै हात चल्न नसक्ने अवस्थामा पुगेपछि उपचार गर्न लखनउ लगिएपनि आर्थिक अभावमा त्यहाँ अप्रेसन गर्न नसकेपछि घर फिर्ता ल्याइएको थियो ।
साहित्यमा ‘ ‘मधुकर’ उपनामले चिनिने मल्लले ‘म मरे पनि मेरो देश बाँचिरहोस’,’वनकी म चरी, कल्ले सुन्ला कठैबरी, मेरो मनको बिलौना’ ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ जस्ता गीत गाएका थिए ।
मल्लको आजै अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।







