मूल्य तय नहुँदा उखु किसान चिन्तित

सर्लाही, २७ पुस – हरेक वार्तापिच्छे चिनी उद्योगपतिले उखुको मूल्य घटाउँदै लगेपछि मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका किसान चिन्तित बनेका छन् ।

शुक्रबार सम्पन्न चौथो चरणको वार्तासम्म आइपुग्दा पनि चालु यामका लागि उखुको मूल्य तय हुन सकेको छैन । झन्डै महिनादिनदेखि हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योग र पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलमा उखु दिँदै आएका किसानलाई अहिलेसम्म उखुको मूल्य कति पाइने हो भन्ने थाहा छैन ।

उद्योगपतिले चिनीको भाउ घटेका कारण उखुको मूल्य घटाउनुपर्ने र किसान नेताले उत्पादन लागत गत वर्षभन्दा बढेकाले मूल्य बढाउनुपर्ने अडान राखेका कारण चौथो चरणको वार्तासम्म पनि मूल्यका विषयमा सहमति हुन सकेको छैन ।

“यसअघिका वार्तामा प्रतिक्विन्टल ४०० रुपैयाँसम्म दिन सकिने प्रस्ताव गरेका चिनी उद्योगीले शुक्रबारको वार्तामा त ३६४ रुपैयाँभन्दा बढी नदिने प्रस्ताव गरेका छन्”–नेपाल उखु उत्पादक महासङ्घका राष्ट्रिय अध्यक्ष कपिलमुनि मैनालीले भने –“उद्योगीबाट सरासर किसान मर्नेगरी षडयन्त्रपूर्वक यस्तो प्रस्ताव आएको छ ।” रासस