गोरखा- गोरखालाई केन्द्रबिन्दू बनाएर बुधबार दिउँसो आएको पराकम्पनमा गोरखामा चारजना घाइते भएका छन् ।
दिउँसो २ बजेर ३७ मिनेटमा गोर्खाको ताप्लेनजिकै केन्द्रबिन्दू भइ आएको ४.५ म्याग्निच्यूडको पराकम्पनले सदरमुकामस्थित एभरेस्ट बैंकको सिसा खसेर लाग्दा खोप्लाङ–८ का अशोक पोखरेल घाइते भएका छन् ।
यस्तै, सदरमुकामस्थित शक्ति उच्च माविमा कक्षा १० मा पढ्ने गणेश गुरुङ घाइते भएका छन् । भूकम्पले भवन हल्लाएपछि माथिल्लो तलाबाट हाम्फाल्दा उनको खुट्टा भाँचिएको हो ।
त्यसैगरी, गोरखामै क्रियाशील वर्ल्डभिजन नामक संस्थाका कर्मचारी बझाङ घर भएका अमित भण्डारी भाग्नेक्रममा लडेर घाइते भएका छन् भने गोरखामा बस्दै आएका सर्लाहीका हरिन्दर साह पनि घाइते भएका छन् ।
उनीहरुमध्ये गणेश गुरुङलाई उपचारका लागि भरतपुर लगिएको छ भने अरुको गोरखा अस्पतालमै उपचार भइरहेको गोर्खा प्रहरीले जनाएको छ ।
बुधबार भूकम्पले गोर्खाका विभिन्न गाउँका घरहरुमा क्षतिसमेत भएको जनाइएको छ । पराकम्पनपछि बुधबार गोरखाका विद्यालयहरुमा छुट्टी दिइएको थियो ।
यसअघि, बुधबारै बिहान बिहान ७ बजेर ४ मिनेटमा धादिङलाई केन्द्रबिन्दू बनाएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।






