ओलीले भने, ‘हो सरकारको आयु छोटो छ’

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले)को संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहनुभएका ओलीले संविधानको मर्म, मुलुकको आवश्यकता र जनचाहनाबमोजिम स्थानीय निर्वाचन मङ्सिरमा गर्न सरकारले नीति तथा कार्यक्रममार्फत तयारी गरेको उल्लेख गर्नुभयो ।

व्यवस्थापिका¬–संसद्मा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

संसद् भवन नयाँ बानेश्वरमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै निर्वाचन हुन नसक्ने जनाएको सन्दर्भमा भन्नुभयो, “यो सरकार छोटो अवधिका लागि नै हो, संविधानबमोजिम २०७४ माघ ७ भित्र आम निर्वाचन गरी सत्ता हस्तान्तरण गरिनेछ । यसैले निर्वाचनका लागि सबै तयार रहनुपर्छ ।”

बैठकमा नीति तथा कार्यक्रमका विशेषताबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा र अर्थविद् डा दिनेशचन्द्र देवकोटाले प्रस्तुति गर्नुभएको थियो ।

संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले नीति तथा कार्यक्रमलाई अझ सुदृढ बनाउँदै पारित गराउन पार्टीका सांसदहरुले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस