लाप्राकवासीलाई एनआरएनले घर बनाइदिने

laprakगोरखा- लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) र सरकारबीच समझदारी भएको छ। बारपाकसँगै जोडिएको लाप्राक गाविसको गुप्सीपाखामा बस्ती सारी भूकम्पपीडितको बस्ती एकीकृत बनाउने समझदारी भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआरएनएबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। ५ सय ७३ घरधुरी भूकम्पपीडित अस्थायी बसोवास गरिरहेको गुप्सीपाखामा एनआरएनले एक घरको २ लाख ५० हजार लागतमा बनाइदिने समझदारी भएको स्थानीय अगुवा गणेश गुरुङले बताए।

सम्झौता भएपछि पीडितहरूलाई घर निर्माणको काम थाल्न बाटो खुलेको उनले बताए। एनआरएनको रकमले घर निर्माण गरेपछि स्थानीय पीडितहरूले सरकारले दिने अनुदान रकम भने पाउने छैनन्। लाप्राकमा करिब १ घण्टा बिताएकी राष्ट्रपतिले विश्वकै नमुना गाउँ बनाउन आग्रह गरेको स्थानीयवासीले बताए।

घरहरू छिटो निर्माण गर्नसमेत राष्ट्रपतिले आग्रह गरेको स्थानीय मार्सिङ गुरुङले बताए। लाप्राकवासी पुरानो थातथलो पहिराको जोखिममा परेपछि एक वर्षदेखि चरन क्षेत्रमा आएर अस्थायी टहरो बनाएर बसोवास गरिरहेका छन्। जंगल क्षेत्रको १८.३२ हेक्टर जमिन सरकारले पीडितहलाई बसोवास गर्न दिने निर्णय गरेलगत्तै घर निर्माण हुन लागेको हो। २७ सय मिटर उचाइको गुप्सीपाखामा हिमपात भएपछि पीडितहरू जोखिमपूर्ण बस्तीमै भत्केका घरहरू निर्माण गरेर बस्न थालेका थिए।