भट्टराईको राजीनामा भारतीय स्वार्थमा – भारतीय अखबार

baburam-bhattarai-1-

काठमाडौं, असोज १२ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनेकपा माओवादी पार्टी परित्याग गरेपछि नेपाली राजनीतिक बृत्तमा अनेक टिका टिप्पणी भइरहेका छन् । पार्टी परित्यागको घोषणाका समर्थनमा लेखिएका केही लेखलाई डा. भट्टराईले आफ्नो ट्वीटर तथा फेसबुक पेजमा ‘शेयर’ समेत गरेका छन् ।
डा. भट्टराईले पार्टी परित्यागको घोषणापछि उक्त विषयमा थप प्रष्टिकरण वा उनका बारेमा गरिएका टिप्पणीको थप प्रतिक्रिया दिएका छैनन् । तर उनले पार्टी परित्याग गरेको सम्बन्धमा मंगलबार भारतीय अखबार ‘नवभारत टाइम्स’ ले अनलाइन संस्करणमा लेखेको छ– ‘भट्टराईको कदमबाट नेपालमा भारतको कुरा मिल्न सक्छ’ ।
दीपान्जन राय चौधरीले लेखेको समाचारमा भनिएको छ, ‘नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी पार्टीबाट राजीनामा दिएपछि नेपालको संविधानमा मधेसी र बाँकी अल्पसंख्यक समुदायका बारेमा भारतका सुझावलाई थप बल मिल्न सक्छ ।’

‘विज्ञका भनाई’ भन्दै उक्त समाचारमा लेखिएको छ, ‘नेपाली कांग्रेस र एमालेका मधेसी नेताहरुलाई पनि भट्टराईले प्रभावित पार्न सक्छन्, जसबाट भारतलाई नेपालका पहाडी र तराई क्षेत्रमा राजनीतिक समीकरणलाई नयाँ ढंगबाट अगाडी बढाउने भूमिका निर्वाह गर्न मौका मिल्न सक्छ ।’
भट्टराईको विद्रोह नेपालको नयाँ संविधानको चरित्रलाई लिएर सत्ताका मठाधीशबीच मतभेदको पहिलो संकेत भएको पनि सो समाचारमा उल्लेख छ ।