वामपन्थी एकताका लागि अध्यक्ष दाहालको आग्रह

prachanda65काठमाडौँ- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी, देशभक्त एवम् परिवर्तनकारी शक्तिलाई एकताका लागि आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा तत्कालीन सोभियत सङ्घका नेता भिआई लेनिनको १४६औँ जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण आजको प्रमुख आवश्यकता भएको बताउनुभएको हो ।

अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ–“जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ ।’’

लेनिनको जन्मजयन्तीको अवसर पारेर ६७ वर्षअघि २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलन अनेकौँ आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको र मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य योगदान गरेको उहाँको सन्देशमा उल्लेख छ ।

जनयुद्ध र जनआन्दोलन हुँदै कम्युनिस्ट आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको भन्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीतालगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको तथा समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको बताउनुभएको छ ।

पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट तथा वामपन्थी प्रगतिशील शक्तिबीचको एकता र ध्रुवीकरणले मात्रै मुलुकका तमाम समस्याको हल हुने अध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ ।