एमाले बैठक बालुवाटारमा राखिएकोमा नेताहरुको आपत्ति

uml1काठमाडौं- एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन्। शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरबिनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए।

नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय बनाएर नियमित बैठक बोलाएकोमा आपत्ति जनाएका हुन्।

उनीहरूले यसबाट जनतामा गलत सन्देश जाने र गलत संस्कृतिले प्रश्रय पाउने भन्दै पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्नुपर्ने माग पनि गरे। उनीहरूको आपत्तिपछि आइतबारको अधिकांश समूहको समूहगत छलफल पार्टी कार्यालय धुम्बाराहीमै हुने भएको छ।