के म नेपाली होइन र ?

citizenship-card-nagariktaकाठमाडौँ- के म नेपाली होइन र ? यदी हो भने मैले किन नेपाली नागरिकता नपाउने ?

चितवनकी रेणु घतानेले प्रश्न गर्दै भन्नुभयो,– ‘सबै कागजात हुँदाहुँदै पनि मलाई चितवन जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म पनि नागरिकता दिएको छैन ।’

दाङकी विना नेपाली (वादी) की आमा को मृत्यु भएपछि अहिले नागरिकताका लागि पहल गर्दा प्रशासनले बाबु पत्ता नलागेको भन्दै नागरिकता दिन आलटाल गर्दै आएको छ । विभिन्न कारणले नागरिकता नपाउने रेणु र विना प्रतिनिधि मात्र हुन् ।

चितवनकै पार्वती परियार र लिला पासवान, कास्कीका सुरज हजारे दाहाल र सप्तरीका अरूणकुमार शाहले पनि नागरिकता पाउनकै लागि अहिले सङ्घर्ष गरिहनु परेको छ ।

महिला, कानून र विकास मञ्चले गरेको एक अध्ययनअनुसार २०६८ असार मसान्तसम्म नेपालमा १६ वर्ष वा सोभन्दा माथि उमेरका व्यक्तिको जनसङ्ख्याको २३.६५ प्रतिशत अर्थात् ४३ लाख ४६ हजार ४६ व्यक्तिसँग नागरिकता प्रमाणपत्र नभएको देखाएको छ ।

पछिल्लो पटक नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जाल गठन गरिएको छ । २०७२ असार २९ मा गठन गरिएको सो सञ्जालको यही चैत २५ र २६ गतेको सम्मेलनले नागरिकता प्राप्त गर्न समस्यामा परेका अन्य व्यक्तिको पहिचान गर्ने र नागरिकतासम्बन्धी बन्न लागेको नयाँ कानुनको प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

सञ्जालका संयोजक दिप्ती गुरूङले सबै प्रमाण हुँदाहुँदै पनि सरकारले अनेक बहानामा नागरिकताबाट वञ्चित गरेको भन्दै सङ्गठित रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।