कांग्रेस संसदीय दल नेताको निर्वाचन २४ गते

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- बुधबार हुने नेपाली कांग्रेस संसदीय दल नेताको निर्वाचनका लागि सोमबार दिउँसो ४.३० बजे मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।

मतदाता नामावलीका विषयमा सोमबार ४.३० देखि ५ बजेसम्म दाबी विरोधको समय तोकिएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

बेलुकी ५.३० बजे मतदाता नामावलीमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिएको छ । संसदीय दलको नेता पदमा उम्मेदवारी दिनका लागि मंगलबार बिहान ९ बजेदेखि मध्याह्न १२ सम्मको समय निर्धारण गरिएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२.३० बजे गरिनेछ । १२.३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १.३० बजेसम्म, नाम फिर्ता लिने समय १.३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ ।

मतदान २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुनेछ । मतदानमा कांग्रेसका २०७ सांसद सहभागी हुनेछन् । चैत २६ गते हुने संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम भने चैत २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य घिमिरेले बताउनुभयो ।