
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले आज कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकार भएकाहरुसँग छलफलमा जुटेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको छ नेपाली जनताको भावना विपरीत सरकारले कुनै काम गर्ने छैन ।”
प्रधानमन्त्री ओलीले सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्विकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पार्नुभयो ।






