युरोपेली सङघ–भारतको वक्तव्यप्रति सरकारको ध्यानाकर्षण

sherdhan raiकाठमाडौँ- युरोपेली सङ्घ–भारत शिखर सम्मेलनले जारी गरेको संयुक्त वक्तव्यमा नेपालको संविधान तथा राजनीतिक स्थितिबारे गरिएको अभिव्यक्तिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले शान्तिपूर्ण, स्थिर एवम् समृद्ध नेपाल निर्माण गर्ने सत्प्रयासमा अन्तर्राष्ट्रिय समुदायको निरन्तर सद्भाव रहने विश्वास व्यक्त गरेको छ । सो सम्बन्धमा परराष्ट्र मन्त्रालयले बिहीबारमा प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको धारणा प्रष्ट पारिसकेको छ ।

नेपालमा जननिर्वाचित सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक प्रक्रियामार्फत लोकतन्त्रका विश्वव्यापी मान्यता र मूल्य आत्मसात् गरेको नेपालको संविधान जारी भई कार्यान्वयन भइरहेको विज्ञप्तिमा स्पष्ट पार्नुका साथै नेपालमा अहिले कुनै पनि संवैधानिक समस्या नरहेको तथ्य सबैलाई जानकारी गराइएको छ ।

राष्ट्रको कुनै पनि समस्या समाधान गर्न नेपाली जनता र सरकार कटिबद्ध एवम् सक्षम रहेका छन्– विज्ञप्तिमा भनिएको छ, “सरकारले आर्थिक विकास र सामाजिक रुपान्तरणमार्फत नेपाललाई समृद्ध तुल्याउन राष्ट्रको सम्मान र गरिमा अभिवृद्धि हुने गरी राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुरुप दातृ निकायको सहयोग उपयोग गरिनेछ ।”