काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ ।
तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले संविधान कार्यान्वयनमा नेपाली काँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गर्नु भयो । सभापति देउवाले संविधान काँग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर काँग्रेसले संविधान संशोधन गर्ने उल्लेख गर्नु भयो ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।”






