काठमाडौँ- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कोहीकसैलाई नभएको बताउनुभएको छ ।
ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोहीकसैले चासो राख्नुको आवश्यकता नभएको बताउनुभयो ।
नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन ।”
नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीकाटिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।






