गोरखा, २६ पुस– संवैधानिक–राजनीतिक तथा संवाद समितिका
सभापति डा बाबुराम भट्टराईले ठूला दलका शीर्ष नेताहरु जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले केही दिनभित्र सहमति जुट्ने बताएका छन् ।
विवादित विषयमा शुक्रबारदेखि नै शीर्ष दलका नेताहरुसँग छलफल सुरु गरेको भन्दै डा भट्टराईले शीर्ष नेता सकारात्मक तवरले छलफलमा प्रस्तुत भएकाले सहमति जुट्ने विश्वास व्यक्त गरे ।
गोरखाको मकैसिङस्थित बुटार र चितवनको दारेचोक जोड्ने पुलको शिलान्यास गर्दै डा भट्टराईले भने, ‘सहमति गरेरै अघि बढ्न सकियो भनेमात्रै माघ ८ मा संविधान जारी हुन्छ , संविधान जारी गर्न सकिएन भने पनि जनताले क्षमा नदिने भन्दै सहमतिका साथ दल अघि बढेर सहमतिको संविधान ल्याउनुपर्नेमा जोड दिए ।’
सङ्घीयताको विषयमा दलहरु सहमतिको नजिक पुगेको भन्दै डा भट्टराईले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा भने असहमति रहेको उल्लेख गरे।






