बुटवल- २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको छ ।
२५६० औँ बुद्धजयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको बृहत् अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आनन्द पोखरेलले राष्ट्रसङ्घका महासचिव र चिनियाँ राष्ट्रपतिलाई लुम्बिनी भ्रमणको निम्तो दिएर आएको बताउनुभयो ।
मन्त्री पोखरेलले २०७३ जेठ ६, ७ र ८ गते हुने तीन दिवसीय २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा राष्ट्र सङ्घका महासचिव मुन र चिनियाँ राष्ट्रपति पिङ आउने धेरै सम्भावना भएको जनाउँदै बुद्धजयन्ती समारोहका अवसरमा धेरै देशका राष्ट्रप्रमुख र राजदूतलाई समेत आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रसङ्घ महासचिव र चिनियाँ राष्ट्रपतिले लुम्बिनी आउने इच्छा व्यक्त गर्नुभएको छ ।
मन्त्री पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिंघे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका निर्देशक जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको बताउनुभयो ।






