काठमाडौं- पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका एकीकृत माओवादीका सांसाद ल्हारक्याल लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा आज दिउँसो काठमाडौंको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान पेस्तोलको गोली भेटिएपछि आयोगले उनलाई प्रहरीको जिम्मा लगाएको हो ।
आयोगले छानविनको क्रममा लकर खोल्दा सुन चाँदीको साटो गोली फेला परेको थियो । गोली भेटिएपछि आवश्यक कानुनी कारवाही अगाडी बढाउन अख्तियारले लामालाई दरवारमार्ग प्रहरी वृत्तमा जिम्मा लगाएको थियो । त्यसपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा पुर्याएको छ ।
परिसरले लामालाई जिल्ला प्रशासन कार्यलयमा पेश गरेपछि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ । प्रहरीको गाडीमा चढ्दा लामा बर्बराएका देखिन्थे ।






