प्रेमबहादुरको मन्त्री र सांसद पद धरापमा

premकाठमाडौं–निर्वाचन आयोगले खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीको दर्ता खारेज गरेपछि उनको मन्त्री र सांसद पद पनि धरापमा परेको छ ।

उनको सांसद पद खारेज हुने कानुन व्यवसायीहरू बताउँछन् । पूर्वमहान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाका अनुसार समानुपातिक सांसद हुन दल अनिवार्य भएकाले दल नै नरहेपछि सांसद पद पनि रहँदैन ।

संविधानको धारा ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ । यसमा प्रतिनिधिसभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्री पद रिक्त हुने उल्लेख छ ।

धारा ७८ मा भने सांसद नभएको व्यक्ति मन्त्री नियुक्त भएमा शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ । दल नै खारेज भएमा सांसद पद रहने–नरहने भन्ने कतै उल्लेख छैन ।

संक्रमणकालीन व्यवस्था रहेको धारा २९८ को उपधारा ९ को प्रधानमन्त्री तथा मन्त्रीहरू पद मुक्त हुने व्यवस्थामा पनि दल खारेज भएमा के हुने भन्नेबारे केही उल्लेख छैन ।