शास्त्रमा भनिएको छ ‘यत्र नार्यौ प्रपुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात : जहाँ नारीको पूजा हुन्छ त्यहाँ देबताहरु पनि खुशी हुन्छन । तर नेपाली समाज जति सुकै आधुनिक युगवाट अघि बढेता पनि त्यसको ठिक विपरीत व्यवहारहरु देखिन थालेका छन । जहाँ दिनदहाडै शौच गर्न निस्केकी महिलालाई बलात्कार गर्न नपाएको झोकमा गाला काटिन्छ । यो त गाला काटेको मात्र हो दिनहुँ घाँटी रेटेका घटना सुनिरहेका छौ । आफ्नो यौनतृप्त पार्न नपाएको झोकमा हेलमेटले हानेर मारेको घटना पनि हाम्रा सामु टड्कारै छन् । नेहा जस्ता थुप्रै महिला अहिले पनि नरपिचाशको फेला पर्न परिरहेको छ । यसलाइ्र्र्र्र नेपाली समाजको विडम्वना नै नभनेर के भन्ने ?यसरी हेर्दा महाभारत काल बाट नेपाली समाज एक कदम पनि अघि बढेको छैन । यो नै नेपाली समाजको तितो यथार्थ हो । महाभारतको कथा अनुसार दुशासन अर्थात आफ्नै देवरबाट बलात्कारको प्रयास स्वरुप चिर हरण गरिएकी द्रौपदी एउटी पात्र मात्र थिइन । जो तिनकै पाँचवटा श्रीमान र तत्कालीन समाजका गन्य मान्य व्यक्तिहरुका माझ लुटिएकी थिइन । त्यस सभामा उपस्थित सबै विद्धत वर्ग मुकदर्शक भएर बसेका थिए । हो आजको नेपाली समाज त्यो महाभारत कालको दुशासन र द्रौपदीको कथा भन्दा केहि फरक छैन ।
नेपाली समाजमा हिजो आज पनि दिन दहाडै सयौ द्रौपदीहरुका चिरहरण भइरहेका छन । कतै तिन बर्षे बावुद्धारा छोरी बलात्कृत,कतै १२ बर्षे बालिका गर्भबती,कतै शिक्षकद्धारा विद्यार्थी बलात्कृत,कतै छिमेकी द्धारा छिमेकीकै छोरी चेली अनि कतै आफ्नै ससुराद्धारा वुहारी बलात्कृत । यस्ता असंख्य घटनाहरु हामी दैनिक जसो पत्रपत्रिकाहरुमा पढिरहेका छौ । यतिमात्र नभइ कतै दलितका नाममा त कतै बोक्सीको आरोपमा दिसा पिसाब खुवाइदै छ ,त कतै दाइजो नल्याएको निहुमा जिउदै मट्टितेल खन्याइदैछ , कतै महिलालाइ छाउपडीजस्तो कुप्रथाका कारण गोठमा मारिदैछ त , कतै महिलालाइ कम्लरी दासी अनि बादीका नाममा दिन दहाडै हत्या गरिदैछ ।
तर विडम्वना महिला हिंसा यति धेरै भइरहँदा पनि एक्काइसौ शताव्दिका विद्धत वर्ग भनाउदा हरु भने कानमा तेल हालेर बसेका छन । नेपाली समाजमा न्यायका कुरा गरिन्छ,समानताका कुरा रिन्छ,अधिकारका कुरा गरिन्छ तर व्यवहारमा भने अन्यायमा परेका हरुलाइ यथेष्ट न्याय दिने काम कहि कतै बाट भएको छैन ।
नारी हिंसा हत्या र बलात्कारका घटनामा बढोत्तरी हुदै जानुमा मुख्य दोषी चाहि पूरुषप्रधान नेपाली समाज , राज्यले न्यायिक क्षेत्रमा देखाएको उदासिपन र विद्धत वर्ग चिर निन्द्रामा रहनु नै प्रमुख कारण हुन । जसले गर्दा समस्या ज्यूँकात्यूँ रहेको छ । कतै दलितका नाममा,कतै बोक्सीका आरोपमा ,कतै कम्लरीको नाममा , कतै छाउपडीका नाममा,कतै बादीका नाममा जुन जुन नाममा भएतापनि बलात्कृत र पीडित बन्न पुगेका छन त मात्र नेपाली नारीहरु ।
आज ति नारीहरुको चित्कार कसले सुनिदिने ? उनिहरुको पुकार कसले सुनिदिने ? उनिहरुको जीवन रक्षाको माग कसले गरिदिने ? यि तमाम प्रश्नका उत्तर आम नारीहरु विद्धत वर्ग संग खोज्दैछन । यस बिषयमा विद्धत वर्गहरुले चासो देखाउनु नै आजको आवश्यकता हो । यदि समाजका विद्घत वर्ग भनाउदा हरु नै नसुने झै गरि बस्ने , कुम्भकर्ण झै कहिल्यै नव्युझिने गरि सुत्ने हो भने तमाम पिडीत नेपाली नारी हरुको चित्कार सुन्ने को त ? महाभारतका धृतराष्ट्र त अन्धा थिए देख्न सकेनन तर हाम्रा समाजमा त एक हैन लाखौ धृतराष्ट्र भेटिन्छन जो देख्न सक्ने भएर पनि अन्धा छन ।
एउटा कुनै राजनीतिक पार्टीका कार्यकर्ता घाइते मात्र भयो भने पनि राजनितीक दल र तिनका भातृसंगठनले आगो लगाउछन देश नै ठप्प पार्छन । तर एउटा कम्लरी महिलाको हत्या हुदा , एउटी तीन बर्षीय बालिका बलात्कृत हुंदा , एउटी दलित महिला माथि बोक्सीको आरोपमा दुव्र्यवहार हुँदा , एउटी महिला सुत्केरी हुन नसकेर मर्दा र एउटी महिला लाइ दाइजो नल्याएका कारण जिउदै मट्टितेल खन्याएर जलाइदा किन केहि बोल्दैनन ती विद्धत भनाउदा वर्गहरु?, किन वोल्दैनन तीराजनीतिक दलका नेताहरु ? अनि किन बोल्दैनन नेपालको सरकार एवम वुद्धिजीवी भनाउदाहरु ? पीडित पक्षले उजुरी दिन जाँदा समेत मेलमिलाप गराँउन उद्यत छन प्रहरी दाजुहरु । तिनै प्रहरी दाजुहरुले आज एउटा प्रश्नको उत्तर दिने समय आएको छ । के तिमीहरुका दिदी बहिनी बलात्कृत हुँदा पनि मेलमिलाप गरेर मुद्धा मिलाउछौ त ? । हैनभने मेलमिलापको नाममा पीडितको न्याय पाउने अधिकार किन खोसिंदैछ ?
यसबाट के बुझ्न सकिन्छ भने समाजका पण्डीत र विद्धत कहलिएका वर्गहरुको समाजमा अर्थ छैन । तसर्थ यदि आँखा चिम्लेर नै बस्ने हो भने तपाइहरुको पण्डीत्याइको कुनै अर्थ छैन । किनकि तपाइको पण्डीत्याइको शिक्षाले धृतराष्ट्र र दुशासन जस्ता चेला नै उत्पादन गर्ने हो भन्ने प्रष्ट भएको छ । अनि स- साना मुद्धामा पनि सडक तताइ सरकारलाइ खवरदारी गर्ने विद्यार्थी नेतृत्वको पनि कुनै तुक देखिएन । किनकि एउटा दलित महिला,बलात्कृत महिला ,कम्लहरी महिला र बादी महिलाको चित्कार तिमीहरुको विद्यार्थी आन्दोलनले कहिल्यै सुनेन । त्यसैले तिमीहरु जस्ता विद्यार्थी वर्गको पनि यो समाजमा कुनै अर्थ देखिएको छैन । यस्तो शिक्षाले कतिदिन सम्म कान नसुन्ने कर्ण र आँखा नदेख्ने धृतराष्ट्र जस्तो विद्यार्थी उत्पादन गर्ने हो ? यसको पनि कुनै लेखा जोखा नै छैन ।
लेखक :जनार्जन पौडेल






