विद्यानन्द राम 
राजविराज । ‘आइतबार जसरी पनि अफिस पुग्नुपर्छ आमा, पिर नगरिसियोस् छुट्टी पाएपछि म फेरि घर आउँछु,’ छोराको वाक्य सम्झिँदै गहभरि आँशु पारेकी ७१ वर्षीया निर्मलादेवी झाले भनिन्, ‘२०७४ कात्तिक १० गते शुक्रबार साँझ काठमाडौंका लागि बिदाइ गर्दा उसले भनेको थियोः काठमाडौंमा खुट्टा टेक्नेबित्तिकै हजुरलाई फोन गर्छु आमा, तपाईं र बुबालाई ख्याल गर्नू ।’

 

‘नाइट बस चढेर राजविराजबाट हिँडेको छोराको फोन आउँछ भन्ने सोच्दै प्रतिक्षारत निर्मलाले त्यो रात बिताइन् । मोबाइल सँगै राखेर छोराले कतिखेर घण्टी बजाउँला भन्दै बेलाबेला मोबाइल सुम्सुम्याइन् । छोरा, बुहारी र नाति सकुशल काठमाडौं पुगेको खबर सुन्न आकुलव्याकुल बनिन् । तिलाठी–१ तिलाठीकी निर्मलादेवी छोरोको फोन प्रतीक्षा गरिरहँदा गाउँमा गाइँगुइँ सुनियो, ‘छोरा, बुहारी र नाति चढेको बस त्रिशुली नदीमा खस्यो ।’

खुइइ गर्दै, आँसु पुछ्दै निर्मलाले भनिन्, ‘आफूलाई त होसहवास् रहेन, के ? कसरी ? भनेर सोध्नसमेत आँट आएन, फतक्कै गलेँ ।’ दुई छोरा, बुहारी र दुई नाति काठमाडौं हिँडेको बस नै दुर्घटनामा परेको खबरले निर्मलादेवीको बोली नै रोकियो ।

कात्तिक ११ गते शनिबार बिहान भएको दुर्घटनाको खबरले सारा सप्तरीबासी स्तब्ध थिए । सदरमुकाम राजविराजबाट काठमाडौंका लागि छुटेको ना६ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ३१ यात्रुले ज्यान गुमाए ।

 

ज्यान गुमाएका मध्ये २६ यात्रु सप्तरीका थिए । तीमध्ये निर्मलादेवीको छोरा ३८ वर्षीय सञ्जितकुमार झा र ३३ वर्षीय अजितकुमार झा, सञ्जितकी पत्नी ३५ वर्षीया सिम्मी र सञ्जितकै दुई छोरा ९ वर्षीय अभिनव मिश्र र ३ वर्षीय प्रतिक पनि परेपछि एउटा आमाको कलेजो नै काटेभन्दा कम पीडा भयो होला र ? खबरले शोकाकुल सप्तरीभित्र पनि एउटी आमाका दुई छोरा, छोराको पनि सपरिवारको कत्लेआम ।

घटना भएको १० महिना बित्दा लाग्दा पनि निर्मलादेवी कात्तिक १० गते नाइट बसमा बिदाई गर्ने बेला छोराले भनेको शब्दहरु बिर्सन सकेकी छैनन् । एक्लै हुदाँ आफैँ बर्बराउँछिन्, ‘छोराले भनेको थियो, दशैँमा आएपछि एक साता घरमै बस्छु, फेरि घरको पनि त फिनिसिङ बाँकी छ नि, त्यहीबेला घर पनि फिनिसिङ गराउँछु ।’ थपिन्, ‘छोरा आफ्नै कमाइले पाइला चाल्न चाहन्थ्यो तर उनको सपना अधुरै रह्यो ।’

 

उमेर ढलेसँगै आँखाले स्पष्ट हेर्ने शक्ति समेत गुमाएकी निर्मलादेवीले भनिन्, ‘छोराले नै दुःख गरी कमाएको पैसाबाट बनाएको घर हेर्दा छोराकै अनुहार आइरहन्छ ।’ छोराको मृत्युसँगै दुःखका दिन बढेको बताउँछिन् निर्मला । जेठो छोरा ४२ वर्षीयमञ्जित र ८६ वर्षीय पति रमानाथसँग रहे पनि मञ्जित शारिरीक रुपमा अशक्त रहेकाले तीनैजनाकै गुजारामा धौ छ । दुर्घटनामा मृत्यु भएका सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौँ तहमा कार्यरत थिए भने अजित काठमाडौंमै क्याम्पस पढ्थे ।

फेसबुक कमेन्ट