महत पनि उम्मेद्‍वार बन्ने कसरतमा

ramsaran mahat
काठमाडौं- कांग्रेस नेता रामशरण महतले १३ औं महाधिवेशनमा सहमतिमा सर्वसम्मत रुपमा साझा नेतृत्व चयन नभए आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै महतले काठमाडौंमा सोमबार भएको साक्षात्कारमा भने, ‘सहमति हुन नसके मैले पहिला नै घोषणा गरेको छु, म सभापतिमा उठ्छु ।’

महतले कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले नछाड्ने हो भने आफूले पनि सभापतिमै उम्मेदवारी दिने घोषणा गरे । ‘उहाँहरु भन्दा म के मा कम छु र ?,’ उनले भने, ‘मभन्दा सिनियर मात्रै हो ।’

महतले राष्ट्रले आफ्नो नेतृत्व महसुस गरेको भन्दै अहिले बाहिर आए जस्तो सभापति पदको उम्मेदवारीको घोषणाबाट ब्याक नभएको स्पष्ट पारे । ‘अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म,’ उनले भने, ‘त्यसैले सभापति बन्न म जति योग्य कोही पनि छैन ।’

महतले पार्टीभित्र सहमति भएर एउटामात्रै उम्मेदवार हुने भए भने आफू जुनसुकै पदमा बसेर काम गर्नसमेत तयार रहेको स्पष्ट पारे । ‘सहमति भए मलाई पद चाहिदैन । त्याग गर्न तयार छु । म पहिला पनि पद छाडेको मान्छे हुँ पदको लालच छैन,’ उनले भने, ‘मलाई गिरिजाबाबुले राष्ट्रपतिको उम्मेदवार बनाउँदा पनि नबनेको हुँ । दुईपटक अर्थमन्त्रीबाट राजीनामा दिएको मान्छे हुँ ।’