काठमाडौं- संस्थापन समूहका सभापति उम्मेदवार रामचन्द्र पौडेलले अर्का दुई आकांक्षी कृष्णप्रसाद सिटौला र सुजाता कोइरालालाई मनाउन सकेनन् ।
कांग्रेसमा केन्द्रीय पदाधिकारी थप्ने प्रयास सफल नभएपछि संस्थापन पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने सम्भावना कम भएको निकट स्रोतले जनाएको छ ।
सहमतिका लागि आइतबार निर्णायक छलफल गर्ने भनिए पनि सभापतिका आकांक्षी कृष्णप्रसाद सिटौला र सुजाता कोइराला कार्यवाहक सभापति रामचन्द्र पौडेलले बोलाएको बैठकमै गएनन् । शशांक निवासमा बसेको बैठकमा पौडेलले दुवैलाई आउन बारम्बार आग्रह गरेका थिए ।
संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवारको टुंगो नलागेपछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पनि सोमबार गर्ने भनिएको उम्मेदवारी घोषणा ढिलाइ गर्ने भएको छ । देउवा पक्षको शनिबार बानेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले टिम घोषणा गर्ने तयारी गरेको थियो । संस्थापन पक्षका असन्तुष्ट नेतालाई आफ्नो पक्षमा तान्ने प्रयासस्वरूप देउवा पक्षले उम्मेदवारी घोषणामा ढिलाइ गरेको हो । देउवा पक्षीय नेता विमलेन्द्र निधिले आन्तरिक छलफल बाँकी नै रहेकाले सोमबार घोषणा गर्न नभ्याइने जनाए ।






