काठमाडौं- नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा पार्टीको विद्यमान अञ्चलस्तरीय संरचनालाई संशोधन गरी प्रादेशिक संरचनामा रुपान्तरण गरिने भएको छ ।
कांग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच विधान संशोधन गर्ने वा नगर्ने विषय पेचिलो बन्दै गएका बेला अन्ततः अञ्चल संरचनालाई मात्र संशोधन गर्ने सहमति भएको छ ।
कांग्रेस केन्द्रीय समितिको आइतबार भएको बैठकले विधानमा हाल कायम प्रत्येक अञ्चलबाट एक जना केन्द्रीय सदस्य निर्वाचन हुने प्रावधानलाई संशोधन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिनुभयो ।
आगामी महाधिवेशनमा अञ्चलस्तरीय संरचनालाई संशोधन गरी प्रादेशिक संरचना बनाइने र प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्य निर्वाचन हुने प्रावधान राखिने सहमति भएको उनले जानकारी दिए । प्रदेशबाट छनोट हुने केन्द्रीय सदस्यका लागि पनि मतदान भने देशभरिका सबै महाधिवेशन प्रतिनिधिले गर्ने अर्का केन्द्रीय सदस्य राजनप्रसाद पन्तले जानकारी दिए ।
समितिले मस्यौदा बनाएको भए पनि देउवा पक्षले अस्वीकार गर्ने देखेपछि प्रतिवेदन केन्द्रीय समितिमा नै पेस नगरिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
ढुङ्गाना नेतृत्वको समितिले छलफल गरी एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित दुई उपसभापति मनोनित, दुई महामन्त्री (एक मनोनित), एक कोषाध्यक्ष मनोनित र आवश्यकताअनुसार सहमहामन्त्रीसहितको ९७ जनाको कार्य समिति बनाउन सुझाव दिएको थियो ।
समितिको सुझावको पक्षमा संस्थापन समूह र विपक्षमा देउवा समूहका महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधिले राजधानीमा छुट्टाछुट्टै भेला गरी फरक–फरक धारणासहितको ज्ञापनपत्र केन्द्रीय समितिलाई बुझाएका थिए ।






