कैलाली घटनामा निर्दोषले दुःख पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीमा गतवर्ष भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको भन्दै आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताउनुभयो ।

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिनुभयो ।