दलहरुले आज अन्तिम प्रयास गर्ने

दलहरुबीच संविधानका विवादित विषयमा सहमति खोज्न अन्तिम प्रयास भइरहेको छ । आजको छलफलका आधारमा सहमतिको समय र भाका तय गरिने नेताहरुले बताएका छन् । संविधानका विवादित विषयमा नौ बुँदे साझा प्रस्ताव राखेका नेपाली कांग्रेस र नेकपा एमालेले आज हुने निर्णायक भनिएको बैठकमा लचकतासहितको नयाँ प्रस्ताव लिएर जाने तयारीमा छन् ।
हिजोका वार्ता छलफलका क्रममा नै भाडिएपछि आज फेरि वार्ता हुन लागेको हो । वार्तामा मधेसवादी दलले भने नजाने बताएका छन् । पहिला तीनदलबीचमा छलफल भएपछि मधेसी मोर्चाका रहेका दललाई बोलाउने तयारी छ ।
कांग्रेस-एमालेले हालै अघि सारेको नौ बुँदे साझा सहमतिमा भूगोलको आधारमा नामाकरण गरिएका सात प्रदेश संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाको प्रस्ताव गरिएको छ। लचकता अपनाउदा पनि एकीकृत माओवादी र ताराई केन्द्रित दलहरु सहमतिमा नआए प्रक्रियामै गएर भएपनि माघ ८ मै संविधान जारी गर्ने गरी आफूहरु अघि बढ्ने कांग्रेस एमाले तयारी छ ।
एकीकृत माओवादी र तराई केन्द्रित दल सम्मिलित ३० दलीय मोर्चाले सोमबार नौ बुँदे प्रस्ताव बुझाएपछि एमाले-कांग्रेसले आफुले बुझाएको नौ बुँदे प्रस्तावलाई पुनरावलोकन गर्दै नौ बुँदे नयाँ प्रस्ताव अघि सारेका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि आजसम्ममा सहमति गरिसक्न भनेका छन् ।