काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२’ आज प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका–संसदले उक्त विधेयक माघ ९ गते पारित गरेको थियो । पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गर्नुभएको थियो । प्रमाणित विधेयकलाई प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।
मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसद्मा विधेयक दर्ता गराएको थियो ।
विधेयकमाथि संसद्मा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो । नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारालाई संशोधन गरेको छ ।







