काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न आन्दोलनरत संयुक्त लोकतान्तिक मधेसी मोर्चालाई आह्वान गर्नुभएको छ ।
इन्टरनेसनल कन्सर्न सेन्टरले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धः नयाँ आयाम र उत्तरदायित्व’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले असहमतिका विषयलाई आवश्यकता आधारमा समाधान गरेर अघि बढ्न सकिने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘तराईको समस्या अलिक जटिल छ । म मधेसी मोर्चाका साथीहरुलाई भन्छु, ओइरोबिनाको जातो घ्वाइँ घ्वाइँ नपारौँ, तात्तै जान्छ, निष्कर्ष केही छैन, त्यस्तो खालको जाँतो नघुमाऔँ । सधैँ समस्या मात्रै खडा गर्ने हैन, हठ छाडेर असमानता कहाँ छ, समाधान खोजौँ ।’
संविधानले तराईका जनतालाई कुनै विभेद नगरेको बरु विशेष व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि बनाइएको संविधान आवश्यकताका आधारमा परिमार्जन गर्दै जान सकिने बताउनुभयो ।







