पोखरा- उपप्रधानमन्त्री भीमबहादुर रावलले देशमा फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै भएको र यसमा कुनै सत्यता नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पाँच महिनादेखिको असहज अवस्थालाई सहज बनाउन धेरै गुणा पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपरेकाले केही समय असहज अवस्था रहने धारणा राख्नुभयो ।
भारतीय आयल कर्पोरेसन र भारत सरकारका उच्चपदस्थ पदाधिकारीले नेपाललाई चाहिए जति पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री रावलले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन सरकार प्रयासरत छ भन्नुभयो ।
अर्को प्रसङ्गमा उहाँले संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीसँग जुध्न नेपाली काँग्रेस लगायत सबै राजनीतिक शक्तिसँगै अघि बढ्नाको विकल्प नभएको बताउँदै अब कसैले आन्दोलन गर्छु भन्दैमा त्यसलाई नेपाली जनताले साथ नदिने विश्वास व्यक्त गर्नुभयो ।







