लण्डनमा कोरोनाभाइरस नियन्त्रण बाहिर, अस्पतालमा बेड अभाव हुँदा मृत्युदर बढ्ने चिन्ता

लण्डन । लण्डनमा कोरोनाभाइरस नियन्त्रण बाहिर गएको सरकारले स्विकार गरेको छ । लण्डनका मेयर सदिक खानले अस्पतालहरुमा अत्यन्तै जटिल अवस्था रहेको भन्दै संघीय सरकारसंग आपतकालिन सहयोग मागेका छन् ।

एनएचएसमा बेडहरु भरिभराउ भएपछि अवस्था अत्यन्तै चिन्ताजनक रहेको यहाँका अधिकारीहरुले बताएका छन् ।
लण्डमा भाइरस नियन्त्रण बाहिर गएको भन्दै मेयर खानले सबै सर्वसाधारणहरुलाई नियमहरु पालना गर्न घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

उनले शहरमा आपतकाल घोषणा गर्दै भनेका छन्, ‘यदि हामीले अहिले नै एक्सन लिएनौँ भने एनएचएसमा बेडहरुको अभाव भएर धेरैले ज्यान गुमाउनुपर्ने हुन्छ ।’

डिसेम्बर ३० देखि जनवरी ६ सम्मको अवधिमा यहाँका अस्पतालमा संक्रमितको संख्या २७ प्रतिशतले बढेको छ । यसअघि एक हप्तामा ५५२४ बिरामीहरु आएकोमा यसपटक ७०४३ बिरामी भर्ना भएका छन् । त्यस्तै भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि ४२ प्रतिशतले बढेका छन् ।

 

Photo-EPA