मुम्बइ-बलिउड अभिनेत्री बिपाशा बसु अन्ततः विवाह बन्धनमा बाँधिने भएकी छिन्। अभिनेता जोन अब्राहमसँग वर्षौंसम्म लिभिङ टुगेदर रिलेसनसिपमा रहेकी उनले अभिनेता करणसिंह ग्रोवरसँग बिहे गर्ने भएकी हुन्।
भारतीय संचारमाध्यमका अनुसार जोन अब्राहमले बिपाशासँग ब्रेकअप गरेर अर्कै युवतीसँग बिहे गरेपछि उनले करणलाई औपचारिक रूपमै नयाँ ब्वाइफ्रेन्डका रूपमा स्वीकार गरेकी थिइन् । उनीहरूले बिहे गर्ने निश्चय गरिसकेको र यसैअनुरूप मार्च महिनामा उनीहरूले फूलमाला गर्ने सम्भावना रहेको हल्ला बलिउड वृत्तमा छ ।
‘पूर्वपत्नीसँग करणको छोडपत्रसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यही कुराले उनीहरूलाई औपचारिक रूपमा विवाहबन्धनमा बाँधिन दिएको थिएन । छोडपत्रको प्रक्रिया समाप्त हुनै लागेकाले अप्रिलमा उनीहरूले बिहे गर्ने सम्भावना उच्च छ,’ समाचारमा भनिएको छ ।






